भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण माग गरेको छ ।
गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारबारे विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो आएपछि राउतसँग स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिएको छ ।
सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार किन गरिएको हो भन्ने विषयमा लिखित जवाफ माग गरेको हो ।
मन्त्रालयले सार्वजनिक सेवामा कार्यरत कर्मचारीबाट सेवाग्राहीको सम्मान र मर्यादा कायम राख्नुपर्ने भन्दै यस्ता घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ ।