लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता संकटमा परेको छ । अबका खेलमा सुधार गर्न नसके नेपालले आठ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने जोखिम बढेको छ ।
यही संकटपूर्ण अवस्थामा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआई टोलीको कप्तान नियुक्त गरेको हो । सन्दीपले अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपबाट पुनः राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।
सन्दीप चार वर्षपछि राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन् । उनले यसअघि २०७८ सालमा राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए । त्यसबेला कानुनी विवादपछि उनको कप्तानी खोसिएको थियो । अहिले क्यानले पुनः उनलाई नेतृत्वको जिम्मेवारी दिएको हो ।
आईसीसी विश्वकप लिग–२ को अन्तिम सिरिज पनि नेपालले सन्दीपकै कप्तानीमा खेल्नेछ । आठ टोली सहभागी लिग–२ मा लगातारको खराब प्रदर्शनपछि नेपाल सातौँ स्थानमा छ । हालसम्म ३२ खेल खेलेको नेपालले ११ खेलमा मात्रै जित हात पारेको छ । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजका चारवटै खेलमा नेपाल पराजित भएको थियो ।
विदेशी भूमिमा पछिल्ला आठ खेलमा नेपालले जित निकाल्न सकेको छैन । लिग–२ मा शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । अब बाँकी चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने चुनौती नेपाली टोलीसामु छ ।
कप्तानमा सन्दीपको दोस्रो इनिङ्स
सन्दीपले २१ वर्षकै उमेरमा पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । २०७८ मंसिर २९ गते क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको थियो ।
उनको कप्तानीमा नेपालले १४ ओडीआई खेलेको थियो । तीमध्ये चार खेलमा जित, नौ खेलमा हार र एक खेल बराबरी भएको थियो ।
त्यसपछि कानुनी विवादका कारण सन्दीपलाई क्यानले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएपछि उनको निलम्बन फुकुवा भएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलापछि पुनः निलम्बनमा परेका सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटमा पुनरागमन गरेका थिए ।
विश्व क्रिकेटको अनुभव
दोस्रोपटक कप्तानीको जिम्मेवारी पाएका सन्दीपसँग विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो तथा हालसम्मका एक मात्र नेपाली खेलाडी हुन् ।
सन्दीपले सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । त्यसबाहेक उनले बिग बास लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), ग्लोबल टी–२० क्यानडा तथा अफगानिस्तान प्रिमियर लिगमा समेत खेलेका छन् ।
उनी नेपालबाट ओडीआई र टी–२० आई दुवैमा १०० विकेट पूरा गर्ने पहिलो बलर हुन् । ओडीआईमा सबैभन्दा छिटो १०० र १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान पनि उनको नाममा छ । उनले ४२ खेलमा १०० र ७३ खेलमा १५० विकेट पूरा गरेका थिए ।
नेपालको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य सन्दीपले ७७ ओडीआई खेलमा १५४ विकेट लिएका छन् । पछिल्ला खेलमा भने उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजका सुरुवाती तीन खेलमा उनी विकेटविहीन बनेका थिए भने चौथो खेलमा बेन्चमा राखिएका थिए ।
चितवनबाट अन्तर्राष्ट्रिय क्रिकेटसम्म
स्याङ्जामा जन्मिएका सन्दीपले बुबा भारतीय रेल्वेमा कार्यरत भएकाले बाल्यकालको केही समय भारतमा बिताएका थिए । क्रिकेटको प्रारम्भिक ज्ञान पनि उनले भारतमै हासिल गरे ।
पछि चितवन आएर अध्ययन गर्ने क्रममा विद्यालयस्तरीय प्रतियोगिता खेलेका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले । त्यहाँ उनलाई नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले प्रशिक्षण दिएका थिए ।
स्पिन बलिङमा विशेष दखल भएका सन्दीपले अस्ट्रेलियन क्रिकेटर सेन वार्नबाट समेत प्रेरणा लिएका थिए । एकेडेमीमा प्रशिक्षणका क्रममा तत्कालीन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेपछि उनी यू–१९ टोलीको प्रशिक्षणमा बोलाइएका थिए ।
सन् २०१६ को यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाएका थिए ।
त्यसपछि सन् २०१८ मे ३१ मा आईसीसी विश्व–११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले त्यसै वर्ष नेदरल्यान्ड्सविरुद्ध ओडीआई क्रिकेटमा डेब्यु गरे ।
अब पुनः कप्तानको जिम्मेवारी पाएका सन्दीपसामु व्यक्तिगत प्रदर्शनसँगै संकटमा परेको नेपाली क्रिकेटको ओडीआई मान्यता जोगाउने ठूलो चुनौती छ ।