रौतहट प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई तोकिएको कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागुऔषध तथा आपराधिक उपद्रव मुद्दामा पुनम उपाध्यायलाई २ हजार १०० रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै, चेक अनादर मुद्दामा पूजा पराजुलीलाई १ हजार, निर्मला चौधरीलाई ५ सय, राम नरेश साहलाई २ हजार र मोस्ताकिम मियालाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसैगरी, हातहतियारसम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र राउतलाई ११ महिना १२ दिन कैद सजाय तोकिएको थियो । लुटपिट तथा कुटपिट मुद्दामा उमेश साह तेलीलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा दोषी ठहर भएका खोभारी साह सोनारलाई ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना तथा शिवमंगल प्रसाद कुशवाहालाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका ९ जना प्रतिवादीमाथि कुल ६ वर्ष ११ महिना १२ दिन कैद तथा ६९ हजार १०० रुपैयाँ जरिवाना तोकिएको छ ।
अदालतबाट फैसला भइसके पनि लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन तथा दण्ड–जरिवाना असुली गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ ।