पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि एक्स–रे सेवा र टोकन मेशीन बन्द हुँदा उपचारका लागि आउने बिरामी तथा सेवाग्राही समस्यामा परेका छन् ।
अस्पतालमा रहेको एक्स–रे मेशीन सञ्चालनमा नआउँदा एक्स–रे गर्नुपर्ने बिरामी निजी तथा अन्य स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतामा छन् । अस्पतालमा एक्स–रे सेवा बन्द भएपछि सामान्यदेखि आकस्मिक अवस्थाका बिरामीसमेत बाहिर गएर महँगो शुल्क तिर्न बाध्य भएका छन् । सेवाग्राही मालती देवीले अस्पतालमै एक्स–रे सेवा उपलब्ध नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप आर्थिक भार परेको बताइन् ।
अस्पतालमा एक्स–रे सेवा करिब एक वर्षदेखि बन्द रहेको बताइएको छ। सेवा नियमित नहुँदा उपचारका लागि समय र पैसा दुवै खर्च गर्नुपरेको स्थानीय सेवाग्राहीको गुनासो छ । यसअघि पनि अस्पतालको एक्स–रे तथा प्रयोगशाला सेवा लामो समय बन्द रहेको विषय सार्वजनिक भएको थियो। सेवा बन्द रहेकै अवस्थामा सम्बन्धित शाखामा कार्यरत केही कर्मचारीले जोखिम भत्ता लिएको समाचारसमेत सार्वजनिक भएको थियो।
त्यस्तै, अस्पतालमा रहेको टोकन मेशीन पनि ६ महिनाभन्दा बढी समयदेखि बिग्रिएर बन्द रहेको कर्मचारीहरूले बताएका छन् । टोकन मेशीन सञ्चालनमा हुँदा सेवाग्राहीलाई आफ्नो पालोअनुसार उपचार गराउन सहज हुने गरेको भए पनि मेशीन बिग्रिएपछि बिरामी एकै ठाउँमा जम्मा हुँदा भीडभाड बढेको सेवाग्राही रमेश साहले बताए । सरकारी अस्पतालमा उपचारका लागि आवश्यक उपकरण लामो समयसम्म सञ्चालनमा नआएपछि सेवाग्राहीले अस्पताल व्यवस्थापनप्रति प्रश्न उठाएका छन्। उनीहरूले बिग्रिएका उपकरण तत्काल मर्मत गरी सेवा नियमित गर्न माग गरेका छन् ।
यस विषयमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. आनन्द रौनियारले बिग्रिएका उपकरण तथा अन्य बन्द सेवा सञ्चालनमा ल्याउने काम भइरहेको बताए । उनका अनुसार एक हप्ताभित्र अस्पतालका सबै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
अस्पताल प्रशासनले तोकेको समयसीमाभित्र एक्स–रे, टोकन मेशीनलगायतका बन्द सेवा सञ्चालनमा आए सेवाग्राहीलाई ठूलो राहत पुग्ने देखिएको छ ।