जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममै ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि दुधमती खोलाको पुल निर्माण सम्पन्न हुन सकेको छैन । भौगोलिक विकटता नभएको सुगम क्षेत्रमा समेत पक्की पुल वर्षौँदेखि अलपत्र पर्नु पूर्वाधार विकासमा देखिएको बेथितिको चरम उदाहरण बनेको छ ।
जनकपुरधामलाई भारतसँग जोड्ने भिट्ठामोड, मटिहानी तथा जटही नाकासम्मको व्यापार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको ढल्केबर–जनकपुर–जटही ६ लेन सडक सञ्चालनमा आएको वर्षौँ भइसके पनि दुधमती खोलामा पुल निर्माण नहुँदा सडकको अपेक्षित लाभ सर्वसाधारणले लिन सकेका छैनन् ।
स्थानीयबासीका अनुसार पछिल्लो चार वर्षदेखि पुल निर्माणमा कुनै काम भएको छैन । पुलमा प्रयोगका लागि राखिएका फलामे डण्डीमा खिया लागेका छन् भने चारैतिर झारपात उम्रिएर निर्माणस्थल खण्डहरजस्तै बनेको छ। पुल निर्माणका लागि राखिएका जेसीबी, ट्र्याक्टर तथा १५–२० टन फलामे डण्डीलगायत सामग्रीसमेत जीर्ण अवस्थामा पुगेका छन् ।
पुल वरिपरिका निर्माण सामग्रीको हेरचाहका लागि चौकीदार राखिएको छ । विगतमा पुल छेउबाट बनाइएको डाइभर्सनमार्फत पैदलयात्रु, साइकल तथा मोटरसाइकल आवतजावत गर्ने गरे पनि अहिले त्यो बाटोसमेत अवरुद्ध भएको छ ।
वर्षायाम सुरु भएसँगै पछिल्लो २–३ सातादेखि डाइभर्सनमा पानीको सतह बढेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ । सामान्य पैदल आवतजावतसमेत ठप्प भएपछि स्थानीयबासी र यात्रु थप समस्यामा परेका छन् ।
पुल वारि र पारिका विद्यालय तथा क्याम्पस जाने विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय मुकेश कापरका अनुसार डाइभर्सनबाट आवतजावत गर्न सकिने अवस्था नरहेपछि विद्यार्थीले घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ ।
यसैगरी बर्होवाबाट जनकपुरको जिरोमाइलतर्फ जाँदै गरेका अब्दुल सदाम डाइभर्सनमा पानी जमेको देखेर मोटरसाइकल फर्काउने क्रममा लडे । मुख्य सडकभन्दा केही तल पुल निर्माणस्थल र खाल्डाखुल्डी भएका कारण मोटरसाइकलको सन्तुलन बिग्रिएर आफू लडेको उनले बताए ।
आक्रोशित सदामले पुल निर्माणमा भएको ढिलाइप्रति प्रश्न गर्दै भने, ‘आधा काम गरेर ठेकेदार भागेको छ। सडक राम्रो बनेको छ, तर एउटा पुलका कारण सम्पूर्ण आवतजावत प्रभावित भएको छ। जनकपुरको जिरोमाइल पुग्न अहिले घुमाउरो बाटोबाट थप ३–४ किलोमिटर यात्रा गर्नुपर्छ ।’
सात वर्षमा पनि बनेन पुल
दुधमती खोलाको पुल निर्माणको ठेक्का २०७६ जेठ २५ गते नागार्जुन हेम जेबीले १३ करोड ९५ लाख ६४ हजार ३ सय ३८ रुपैयाँमा पाएको थियो। सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि सरकारले पटक–पटक म्याद थप गरेको थियो ।
पछिल्लो पटक २०८२ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा दिइए पनि ठेकेदार कम्पनीले काम पूरा गर्न सकेन। त्यसपछि सडक डिभिजन कार्यालय जनकपुरले २०८३ असार २६ गते सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता रद्द गरेको थियो।
सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दारोगा प्रसादले ठेकेदार कम्पनीको ठेक्का रद्द गरी रकम असुलीका लागि अदालतमा मुद्दा दायर गरिएको बताए ।
उनका अनुसार पुल पुनः निर्माणका लागि आवश्यक इस्टिमेटलगायत प्रक्रिया पूरा गरी फाइल माथिल्लो निकायमा पठाइसकिएको छ। आगामी असोजभित्र नयाँ ठेक्का लाग्न सक्ने उनले बताए ।
‘पुलको अनुगमन तथा निरीक्षण गरी लागत तयार गरेर माथि पठाएका छौँ। मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ। सायद असोजभित्र ठेक्का लाग्छ होला,’ उनले भने ।
धनुषामा ६ ठेक्का रद्द
धनुषामा तोकिएको समयमा काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने ६ वटा ठेकेदार कम्पनीको ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा पुल निर्माणको ठेक्का पाएको नागार्जुन हेम जेबीका तीनवटा ठेक्का र सडक तथा पुल सुधारको जिम्मा पाएका स्काई कन्ट्रक्सन एन्ड सप्लायर्स, बाबा बुद्धेश्वरनाथ कन्ट्रक्सन कम्पनी तथा चुरे कन्ट्रक्सन एन्ड सप्लायर्सका ठेक्का सम्झौता रद्द गरिएको हो ।
रद्द भएका आयोजनाको पुनः ठेक्का प्रक्रिया आगामी असोजभित्र पूरा गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
स्थानीयबासीले नयाँ सरकार गठन भएसँगै विगतको तुलनामा विकास निर्माणका काममा हुने लापरवाही घट्ने अपेक्षा गरेका छन् । सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विकास निर्माणका कामलाई तीव्रता दिने तथा लापरवाही गर्नेलाई कडा दण्ड दिने व्यवस्था गर्ने उल्लेख भएकाले अबका ठेक्का समयमै सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको उनीहरूको भनाइ छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)