मधेस प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय जनकपुरले करिब एक महिनापछि नयाँ सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सुरु गरेको छ ।
कार्यालयले अनलाइन फाराम भरी राजस्व बुझाएका सेवाग्राहीका लागि बिहीबार लिखित र शुक्रबार प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने जनाएको छ। हाल ‘ए’ र ‘के’ वर्गका लागि मात्र परीक्षा सञ्चालन गरिएको र अन्य वर्गको परीक्षा सम्बन्धमा पछि सूचना जारी गरिने कार्यालयका वरिष्ठ शाखा अधिकृत चन्देश्वर साहले जानकारी दिनुभयो । नयाँ प्रणालीमा ओटीपी नआउने तथा आवेदन गरेको वर्गभन्दा फरक वर्ग देखिनेजस्ता प्राविधिक समस्या अझै रहेको कार्यालयले जनाएको छ । प्रयोगात्मक परीक्षा सञ्चालनपछि प्रणालीको कार्यक्षमताबारे थप स्पष्ट हुने कार्यालयको भनाइ छ ।
यसअघि यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि असार २९ गतेदेखि नयाँ लाइसेन्स तथा नवीकरणसम्बन्धी सेवा प्रभावित भएको थियो । सेवा रोकिँदा दैनिक सयौँ सेवाग्राही कार्यालय पुगेर फर्किन बाध्य भएका थिए ।
यसपटकको परीक्षामा ८५ जना सहभागी भएका छन् । परीक्षार्थीले प्रवेशपत्र, सक्कल नागरिकता र वर्ग थपका लागि पुरानो लाइसेन्स अनिवार्य रूपमा ल्याउनुपर्ने तथा प्रयोगात्मक परीक्षाका लागि आवश्यक सवारीसाधन आफैँ व्यवस्था गर्नुपर्ने कार्यालयले जनाएको छ ।