प्रादेशिक अस्पताल जलेश्वरमा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा बन्द भएको करिब एक महिना हुन लाग्दा पनि सेवा पुनः सञ्चालनका लागि ठोस पहल हुन सकेको छैन ।
भिडियो एक्सरे गर्ने चिकित्सकलाई प्रोत्साहन भत्ता (इन्सेन्टिभ) उपलब्ध नगराइएका कारण साउन २ गतेदेखि सेवा बन्द रहेको बताइएको छ । सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुग्ने गर्भवती महिलासहित अन्य बिरामी चेकजाँचका लागि निजी स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् । अस्पताल प्रशासनले सुरुमा प्राविधिक कारण देखाउँदै भिडियो एक्सरे सेवा बन्द रहेको सूचना टाँसेको थियो । तर प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले इन्सेन्टिभसम्बन्धी समस्याका कारण सेवा बन्द भएको स्वीकार गरेका छन् ।
उनका अनुसार भिडियो एक्सरे गर्ने चिकित्सक डा. रोशन साहले इन्सेन्टिभ उपलब्ध नभएसम्म सेवा नदिने अडान लिएपछि सेवा अवरुद्ध भएको हो । “हामी सेवा पुनः सञ्चालनका लागि प्रयासरत छौँ,” डा. श्रीवास्तवले भने । आर्थिक वर्ष २०८२/८३ का लागि चिकित्सकलाई इन्सेन्टिभ उपलब्ध नगराइएका कारण समस्या उत्पन्न भएको उनले बताए । अस्पताल व्यवस्थापन समिति र प्रशासन दुवैले समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ ।
प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहितप्रसाद ठाकुरले जेठ २८ गते बसेको समितिको बैठकले इन्सेन्टिभ उपलब्ध गराउने निर्णय गरे पनि त्यसको कार्यान्वयन नभएकाले समस्या उत्पन्न भएको बताए । “समितिको निर्णयअनुसार इन्सेन्टिभ किन वितरण भएन भन्ने विषयमा पनि हामीले सोधखोज गरिरहेका छौँ,” अध्यक्ष ठाकुरले भने ।
अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएपछि बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन् । यसबाट आर्थिक अवस्था कमजोर भएका सेवाग्राही बढी प्रभावित भएका छन् । अस्पताल प्रशासनका अनुसार दैनिक एक दर्जनभन्दा बढी महिला भिडियो एक्सरे गराउन अस्पताल आउने गरेका छन् । सेवा बन्द हुँदा विशेषगरी गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता भएको छ ।
जलेश्वरका युवा दिपु कापरले अस्पताल व्यवस्थापन समिति र प्रशासनबीचको असमझदारीका कारण बिरामीले समस्या भोग्नुपरेको बताए । उनले सम्बन्धित पक्षलाई तत्काल समस्या समाधान गरी भिडियो एक्सरे सेवा पुनः सञ्चालन गर्न आग्रह गरे ।
सेवा सञ्चालनका लागि प्रयास भइरहेको अस्पताल प्रशासनको दाबी रहे पनि सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय हुन नसक्दा समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ । लामो समयदेखि बन्द रहेको भिडियो एक्सरे सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ ।