सभामुख डोलप्रसाद अर्यालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले निजगढ विमानस्थल निर्माणसम्बन्धी बहस अघि बढिरहेको र सरकारले आवश्यक निर्णय लिने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उनको भनाइ थियो ।
वर्तमान सरकार र संसद्मा युवाको बाहुल्यता रहेको उल्लेख गर्दै सभामुख अर्यालले सरकारले तत्कालै सबै काम सम्पन्न गर्न नसक्ने भएकाले विकास र समृद्धिको यात्रामा धैर्य गर्न नागरिकलाई आग्रह गरे । “सरकारले आजै सबै काम गरिहालेन भनेर आत्तिनु हुँदैन । विकास र समृद्धिको यात्रा लामो हुन्छ, समय लाग्छ,” उनले भने, “यो यात्रामा नागरिकको भूमिका पनि महत्वपूर्ण छ । हामीले नै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।”
सरकार असफल भयो भन्ने नकारात्मक सन्देश प्रवाह गर्नुभन्दा सुधार र विकासका लागि सरकारलाई साथ दिनुपर्ने उनले बताए । सभामुख अर्यालले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जनादेश पाएको दाबी गर्दै सरकारलाई असफल हुने छुट नभएको बताए। पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले सुरु गरेको उल्लेख गर्दै उनले त्यसमा सबैको साथ आवश्यक रहेको बताए । “अब नेपाल समृद्ध बनाउनैपर्छ। पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ,” उनले भने ।
सभामुख अर्यालले सरकार भ्रष्टाचारविरुद्धको अभियानमा दृढ रहेको दोहोर्याउँदै वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पारे ।