मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले रिक्त पदमा कर्मचारी व्यवस्थापन गर्न चार विभागमा प्राध्यापकदेखि लेक्चररसम्मका ६ जना विशेषज्ञ माग गरेको हो । प्रतिष्ठानले साउन २९ गते प्रकाशित गरेको सूचनाअनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिष्ठानका अनुसार सिटिभिएस विभागमा एक जना, प्याथोलोजीमा दुई जना, एनेस्थेसियामा दुई जना र मेडिकल सर्जिकल नर्सिङमा एक जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
उम्मेदवारको योग्यता र अनुभवका आधारमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चरर पदमा नियुक्ति गरिनेछ । चिकित्सकतर्फ सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ । नर्सिङतर्फ भने सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । उमेर हदतर्फ प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि ७० वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदमा आवेदन दिन उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
परीक्षा दस्तुर पदअनुसार फरक–फरक तोकिएको छ । प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि १ हजार ५ सय रुपैयाँ तथा असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदका लागि १ हजार २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।
उम्मेदवारले परीक्षा दस्तुर भानु चोकस्थित लक्ष्मी सनराइज बैंकमा रहेको प्रतिष्ठानको खातामा जम्मा गरी सोको भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ ।
