सिराहामा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएपछि ४३ वर्षदेखि फरार रहेका एक प्रतिवादी पुजारीको भेषमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् । प्रहरीका अनुसार यादवसहित ११ जना प्रतिवादीले २०४१ साल वैशाख १ गते खरुक्याहीमा लागेको वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा सोही स्थानका रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेका थिए। कुटपिटबाट रजिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा अदालतबाट यादवलाई एक वर्ष कैद सजाय तोकिएको थियो । सजाय पाएपछि फरार रहेका यादवलाई प्रहरीले बिहीबार आफ्नै गाउँस्थित शिवमन्दिरमा पुजारीको भेषमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिराहामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सोही घटनामा संलग्न अन्य फरार प्रतिवादीहरूको भने मृत्यु भइसकेको छ।