प्रादेशिक अस्पताल कलैयाले सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यले दैनिक रूपमा प्रदान गरिएका स्वास्थ्य सेवाको आधिकारिक तथ्यांक सार्वजनिक गर्न थालेको छ ।
अस्पतालले साउन २६ गते मङ्गलबारदेखि २८ गते बिहीबारसम्म लगातार तीन दिन आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गरेको हो ।
अस्पताल प्रशासनका अनुसार बहिरङ्ग (ओपीडी) सेवा लिने बिरामीको संख्या क्रमशः बढ्दै गएको छ । साउन २६ गते ओपीडीबाट ३३२ जनाले सेवा लिएका थिए भने २७ गते ३७४ र २८ गते ३८४ जनाले सेवा लिएका छन् ।
ओपीडीअन्तर्गत हाडजोर्नी तथा नशा, बालरोग, स्त्रीरोग, सामान्य चिकित्सा (बीमासहित), सामान्य शल्यक्रिया, दन्त तथा नेत्ररोग विभागबाट सेवा प्रदान हुँदै आएको अस्पतालले जनाएको छ ।
त्यसैगरी, आकस्मिक सेवातर्फ दैनिक ७५ देखि ९४ जनासम्म बिरामीले उपचार सेवा लिएका छन् । अस्पतालले प्रयोगशाला (ल्याब), एक्सरे, ईसीजी, भिडियो एक्सरे, प्रसूति तथा हाडजोर्नी, जनरल र प्रसूति शल्यक्रियासहितका सेवाको दैनिक तथ्यांकसमेत सार्वजनिक गर्न थालेको छ ।
सार्वजनिक विवरणअनुसार साउन २८ गते बिहीबार मात्रै ४६ जनाले स्त्रीरोग विशेषज्ञ सेवा, १४३ जनाले ल्याब सेवा र ८८ जनाले एक्सरे सेवा लिएका छन् ।
दैनिक सेवा प्रवाहको तथ्यांक सार्वजनिक गर्ने अभ्यासले अस्पतालका सेवा, बिरामीको चाप तथा उपचारसम्बन्धी गतिविधिबारे सर्वसाधारणलाई नियमित जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।