वीरगंजमा अवैध रूपमा औषधि प्याकिङ गरी बजारमा बिक्री–वितरण गरेको आरोपमा प्रहरीले एक फार्मास्युटिकल्सका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित आर.पी. फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुल चौहान रहेका छन् । श्रीपुरस्थित उक्त फार्मास्युटिकल्सको आडमा करिब डेढ वर्षदेखि अवैध रूपमा औषधि प्याकिङ तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले शुक्रबार छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी नायब उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले फार्मास्युटिकल्समा खानतलासी गरी सञ्चालक चौहानलाई नियन्त्रणमा लिएको हो ।खानतलासीका क्रममा प्रहरीले अवैध रूपमा प्याकिङ गरिएका औषधि, कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तु, स्टिकर तथा लेबललगायतका सामग्री बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले आर.पी. फार्मास्युटिकल्सका सञ्चालक चौहानलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनका अनुसार बिना अनुमति औषधिजन्य पदार्थ प्याकिङ भइरहेको सूचनाका आधारमा प्रहरीले फार्मास्युटिकल्समा खानतलासी गरेको थियो । त्यसक्रममा प्याकिङ गरिएका औषधि तथा कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तुसमेत बरामद गरिएको उनले बताए ।
चौहानलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।