वीरगंज नाका हुँदै एलोपेथिक औषधिको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ।
वीरगंज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औषधिको आयात बढेको हो । नेपालमा सबैभन्दा बढी औषधि भारतबाट आयात हुने गरेको छ । भारतपछि बंगलादेश, सिंगापुरलगायत तेस्रो मुलुकबाट समेत वीरगंज नाका हुँदै औषधि आयात हुने गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै २९ अर्ब ३० करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने २८ अर्ब ८४ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो। यसअनुसार एक वर्षको अवधिमा औषधि आयात ४६ करोड रुपैयाँले बढेको छ ।
नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतमका अनुसार स्वदेशी औषधिले मुलुकको कुल औषधि बजारको करिब ६० प्रतिशत हिस्सा ओगटे पनि करिब ४० प्रतिशत बजारका लागि अझै विदेशी औषधिमै निर्भर हुनुपर्ने अवस्था छ । कतिपय अत्यावश्यक औषधि स्वदेशी उद्योगले उत्पादन गर्न नसक्दा विदेशी औषधिमा निर्भर हुनुपरेको गौतमले बताए । विशेषगरी भेन्टिलेटर तथा आईसीयूमा प्रयोग हुने कतिपय औषधि नेपालमै उत्पादन हुन नसकेको उनको भनाइ छ ।
“कतिपय औषधि उत्पादनका लागि आवश्यक प्रविधि, कच्चा पदार्थ र बजारको सीमितताका कारण स्वदेशी उद्योगले सबै प्रकारका औषधि उत्पादन गर्न सकेका छैनन्,” गौतमले भने, “त्यसैले केही औषधिमा विदेशी उत्पादनमाथिको निर्भरता बाध्यात्मक छ ।” नेपालमा हाल एक सयभन्दा बढी एलोपेथिक औषधि उत्पादक उद्योग सञ्चालनमा रहेको बताइएको छ ।
स्वदेशी उद्योगको संख्या बढ्दै गए पनि सबै प्रकारका औषधि उत्पादन हुन नसक्दा विदेशी औषधिको आयातमा निर्भरता कायमै रहेको व्यवसायीहरूको भनाइ छ ।