संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारका तर्फबाट आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मधेश प्रदेशमा पर्यटनको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्याबारे स्थलगत अध्ययन गर्ने क्रममा पर्सा पुगेका मन्त्री पौडेलले निकुञ्जका अधिकारी, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल गरेका हुन् । छलफलका क्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निकुञ्जमा पर्यटक आकर्षित गर्न देखिएका समस्या र आवश्यकताबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
उनीहरूले भौतिक पूर्वाधारको कमी, पर्याप्त प्रचारप्रसारको अभाव, सफारीका लागि आवश्यक सवारीसाधनको कमी तथा पानीको समस्याका कारण पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो पर्यटकीय सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न नसकेको बताएका थिए । सरोकारवालाका सुझाव सुनेपछि मन्त्री पौडेलले भारतीय सीमा नजिकै रहेर पनि पर्सा राष्ट्रिय निकुञ्ज पर्याप्त रूपमा प्रचारप्रसार हुन नसकेको र पर्यटकीय दृष्टिले ओझेलमा परेको स्वीकार गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, लगानीको वातावरण सिर्जना तथा प्रभावकारी प्रचारप्रसारलाई प्राथमिकता दिँदै पर्सा राष्ट्रिय निकुञ्जलाई स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए ।
मन्त्री पौडेलले पर्सा राष्ट्रिय निकुञ्जको प्राकृतिक, जैविक तथा पर्यटकीय सम्भावनालाई उपयोग गर्दै स्थानीय समुदायलाई समेत पर्यटनबाट लाभान्वित हुने वातावरण निर्माण गर्न आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।