गुडविल सोसाइटीको आयोजनामा वीरगंजमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
रगतको अभावलाई न्यूनीकरण गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय युवालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै यस्ता मानवीय तथा सामाजिक सेवामा समाजका हरेक वर्गको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य बासिर मियाँ हजामलगायत स्थानीय युवाहरूको बाक्लो सहभागिता रहेको थियो । युवाहरूको स्वतःस्फूर्त सहभागिताले रक्तदान कार्यक्रमलाई थप प्रभावकारी र उत्साहजनक बनाएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा रगतको अभाव हुन नदिन गुडविल सोसाइटीले आयोजना गरेको यस कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा युवाहरूको सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।