वीरगंज महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको वृहत् वृक्षारोपण अभियानलाई तीव्रता दिएको छ ।
अभियानअन्तर्गत महानगरपालिकाको आयोजनामा वीरगंज बसपार्क परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बसपार्कजस्तो भीडभाड तथा सवारीसाधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित र हरियालीयुक्त बनाउने उद्देश्यले विभिन्न प्रजातिका छायादार तथा सौन्दर्यवर्धक बिरुवा रोपिएको महानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले बढ्दो सहरीकरण र प्रदूषण न्यूनीकरणका लागि वृक्षारोपणको विकल्प नरहेको बताउनुभयो । उहाँले वीरगंजलाई हरित तथा सुन्दर सहरका रूपमा विकास गर्न वृक्षारोपण अभियानलाई महानगरका अन्य क्षेत्रमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले वीरगंजलाई प्रदूषणमुक्त र बस्नयोग्य सहर बनाउने महानगरपालिकाको मुख्य लक्ष्य रहेको बताउँदै अभियानलाई सफल बनाउन सम्पूर्ण नगरवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । वृक्षारोपण कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय युवा क्लब, टोल सुधार समितिका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
महानगरपालिकाले बिरुवा रोप्ने कार्यसँगै रोपिएका बिरुवाको संरक्षण तथा हुर्काउने जिम्मेवारी स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाउने नीति लिएको जनाएको छ । आगामी दिनमा महानगरका अन्य वडा, सार्वजनिक खाली जग्गा तथा सडकका किनारमा समेत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ ।