धनुषा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेको अवस्थामा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई शुक्रबार पक्राउ गरिएको हो । प्रहरीले मण्डलको साथबाट करिब ६५ ग्राम खैरो हिरोइन तथा लागूऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
यसैबीच, धनुषा प्रहरीले शुक्रबार विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा १० जना कुटपिट मुद्दामा तथा दुई जना घरेलु हिंसा मुद्दामा जरिवाना तथा सजाय तोकिएका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ ।