रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट बाहिर निस्किएकी थिइन् । बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खसेपछि उनी जमेको पानीमा डुबेकी थिइन् ।
बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकाले पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान करिब साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेपछि असई धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा थप टोली खटाएको जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो ।