स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
लहान पुगेकी मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा समय लाग्ने भएकाले नागरिकलाई तत्काल राहत दिन ट्रमा युनिटमार्फत सेवा सुरु गर्न लागिएको बताउनुभयो ।
लहान अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पतालजस्ता आवश्यक पूर्वाधार उपलब्ध रहेको उल्लेख गर्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विशेषज्ञसहितको टोली खटाएर ट्रमा सेवा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य बीमा तथा औषधि आपूर्तिको विषयमा स्पष्ट पार्दै मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताउनुभयो । निजी अस्पतालमा बीमा सेवा रोकिए पनि सरकारी अस्पतालमा सेवा यथावत् रहेको उहाँको भनाइ छ ।
करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमा निर्भर रहेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री मेहताले बीमाका अवैज्ञानिक प्याकेजहरूको पुनरावलोकन भइरहेको जानकारी दिनुभयो । उहाँले बीमातर्फको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको समेत बताउनुभयो ।
यसैगरी, तराई क्षेत्रमा देखिएको सर्पदंशको औषधि अभावलाई सम्बोधन गर्न काठमाडौं आइपुगेको ८ हजार ५ सय भायल ‘एन्टी स्नेक भेनम’ आइतबारदेखि देशभर वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
मन्त्री मेहताले देशका कुनै पनि क्षेत्रमा आवश्यक औषधिको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।