रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दोस्रो कार्यकालमा पनि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन् ।
नगरप्रमुख प्रेमलाल साह कानु दल त्यागका कारण पदमुक्त भएपछि उपप्रमुख पटेलले पुनः नगरपालिकाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएकी हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपप्रमुखमा निर्वाचित पटेलले पहिलो कार्यकालमै कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेल भवन निर्माणको भुक्तानीका क्रममा घुस लिएको आरोपमा २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ परेपछि पटेलले लामो समय नगरपालिकाको कार्यवाहक प्रमुखका रूपमा काम गरेकी थिइन् ।
धर्मेन्द्र पटेल धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम टुंगो नलागेकाले २०७९ सालको स्थानीय तह निर्वाचनसम्म परनिया देवीले नै नगरपालिकाको कार्यसम्पादन सम्हालेकी थिइन् ।
२०७९ को निर्वाचनमा नेकपा एमालेबाट पुनः उपप्रमुखमा निर्वाचित पटेलको दोस्रो कार्यकालमा पनि यस्तै परिस्थिति दोहोरिएको हो। एमालेबाट निर्वाचित नगरप्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी आम जनता पार्टीमा आबद्ध भएपछि निर्वाचन आयोगले २०८३ साउन १५ गते उनीहरूको पद स्वतः समाप्त भएको सूचना प्रकाशित गरेको थियो ।
राजनीतिक दलसम्बन्धी कानुनअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा निजको पद रिक्त हुने व्यवस्थाबमोजिम नगरप्रमुख साह कानु र वडा अध्यक्ष कुर्मी पदमुक्त भएका हुन् ।
नगरप्रमुख पदमुक्त भएपछि शुक्रबार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै परनिया देवीले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, समावेशिता तथा भेदभावरहित सेवा प्रवाहको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा कुनै राजनीतिक दल वा समूहप्रति भेदभाव नगरी सबैको साथ र सहभागितामा नगरपालिकाको काम अघि बढाउने बताइन् ।
‘नगरपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य र समन्वय आवश्यक छ,’ उनले भनिन्, ‘नगरवासीको हितलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ ।’
पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार केसरी, वडा नम्बर १ की अध्यक्ष सफिना खातुन, वडा नम्बर २ का अतिकुर रहमान, वडा नम्बर ३ का सञ्जय पटेल, वडा नम्बर ६ का विष्णुकुमार दास, वडा नम्बर ७ का उपेन्द्र राय यादव, वडा नम्बर ८ का विजय पटेल, वडा नम्बर ९ का वीरबहादुर साहलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको उपस्थिति थियो ।
लगातार दुई कार्यकालमा नगरप्रमुखको पद रिक्त हुँदा दुवै पटक नेतृत्व सम्हाल्ने अवसर पाएकी परनिया देवीको यो संयोग अहिले देवाही गोनाही नगरपालिकामा चर्चाको विषय बनेको छ ।