शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालनमा आएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ ।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय सेवा उपलब्ध हुन थालेपछि अस्पतालमा प्रसूति गराउने महिलाको सङ्ख्या बढेको हो । सङ्घीय सरकारको ‘एक नगरपालिका, एक सुविधा सम्पन्न अस्पताल’ योजनाअन्तर्गत निर्माण भएको बरहथवा नगर अस्पतालमा नगरपालिकाले आवश्यक उपकरण तथा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन गरेको हो । बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवासहितको प्रसूति सुविधा पाउँदा स्थानीयवासीलाई सहज भएको बताउनुभयो । विगतमा श्रीमतीको प्रसूति सेवाका लागि वीरगंज तथा जनकपुरका महँगा अस्पताल धाउनुपरेको उहाँले सुनाउनुभयो ।
यस अस्पतालमा गत माघदेखि स्त्री, प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार माघयता १ हजार २७३ जनाले प्रसूति सेवा लिइसकेका छन् । तीमध्ये ११९ जनाको शल्यक्रिया (सिजेरियन) मार्फत प्रसूति गराइएको छ भने बाँकीको सामान्य प्रसूति भएको अस्पतालले जनाएको छ । विगतमा यस क्षेत्रमा सामान्य बर्थिङ सेन्टर मात्रै सञ्चालनमा रहेकाले प्रसूतिको अवस्था जटिल भएपछि बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको थियो । यसका कारण विपन्न परिवारले महँगो उपचार खर्च व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
बागमती नगरपालिका–८ शङ्करपुरकी सङ्गीता कुशवाहाले आर्थिक अभावका कारण गर्भवतीलाई घरमै सुत्केरी गराउने अवस्था समेत रहेको सुनाउनुभयो । अहिले नगर अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध भएपछि स्थानीयलाई ठूलो राहत भएको उहाँको भनाइ छ । अस्पतालकी चिकित्सक डा. लिमुकुमारी साहले शल्यक्रियासहितको प्रसूति सेवा निःशुल्क उपलब्ध हुन थालेपछि अस्पतालप्रति बिरामीको विश्वास र आकर्षण बढेको बताउनुभयो । अत्यावश्यक अवस्थाबाहेक बिरामीलाई अन्यत्र रेफर गर्न नपर्ने भएकाले पनि सेवाग्राहीको चाप बढेको उहाँको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सरोजरोशन दासका अनुसार बरहथवासहित बागमती, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, हरिपुर र चक्रघट्टलगायत क्षेत्रबाट समेत प्रसूति सेवा लिन बिरामी आउने गरेका छन् ।
अस्पतालमा निःशुल्क प्रसूति तथा औषधोपचारसँगै जनरल फिजिसियन, ओपीडी, इमर्जेन्सी र आँखा उपचार सेवा पनि सञ्चालनमा रहेको डा. दासले जानकारी दिनुभयो । मधेश प्रदेश सरकारबाट प्राप्त जनस्वास्थ्य प्रयोगशालामार्फत सहुलियतपूर्ण ल्याब परीक्षण सेवा उपलब्ध हुन थालेपछि पनि अस्पतालप्रति नागरिकको आकर्षण बढेको अस्पतालले जनाएको छ ।