धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा गाउँपालिका–१ निवासी पुनिताकुमारी महतो रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला आइतबार बिहान करिब ११ बजे पानीको मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा मध्यान्ह करिब १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।