धान रोपाइँ तथा बाली व्यवस्थापनका लागि मलको माग बढिरहेका बेला वीरगंज नाकाबाट साउन महिनामा ११ हजार ७ सय १५ टन युरिया र डिएपी मल भित्रिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगंज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगंजस्थित कम्पनीको गोदाममा भित्रिएको हो । भारतको इन्डियन पोटास लिमिटेड (आईपीएल) ले तेस्रो मुलुकबाट ल्याएको उक्त मल वीरगंज आएको हो ।
त्यस्तै, कन्साइन्मेन्ट नम्बर १ सय ५५ अन्तर्गत ५ हजार १ सय ११ टन युरिया मल पनि वीरगंज आइपुगेको छ । उक्त मल आदित्य बिर्ला कम्पनीले ग्लोबल टेन्डरमार्फत ल्याएको हो। कन्साइन्मेन्ट नम्बर १ सय ५३ अन्तर्गत सन इन्टरनेसनल कम्पनीले ल्याएको थप १ हजार १ सय ७३ टन युरिया मलसमेत वीरगंज भित्रिएको छ ।
तीनवटै कन्साइन्मेन्टमार्फत हालसम्म ११ हजार ७ सय १५ टन मल वीरगंज आइपुगेको हो । मल बोकेका रेल्वे र्याक क्रमशः भारतको रक्सौल रेल्वे स्टेसन र वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइरहेको शर्माले जानकारी दिनुभयो ।
कम्पनीका अनुसार तीनवटै कन्साइन्मेन्टमार्फत ३०–३० हजार टन मल ल्याउने तयारी छ। वीरगंज भित्रिएको मल कृषि सामग्री कम्पनीका वीरगंज, भैरहवा र विराटनगरस्थित प्रादेशिक कार्यालयमा वितरण गरिनेछ ।
धान रोपाइँ तथा बाली व्यवस्थापनका समयमा मल अभावका कारण किसान समस्यामा परिरहेका बेला ठूलो परिमाणमा युरिया र डिएपी मल भित्रिन थालेपछि केही राहत पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।