सङ्घीय स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल एक सय शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
आइतबार अस्पताल निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मेहताले अस्पतालको स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने बताउनुभयो । नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेकाले भदौभित्र भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । मन्त्री मेहताले नयाँ भवन हस्तान्तरणलगत्तै सघन उपचार कक्ष (आईसीयू) सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालमा हाल एक सय शय्या विस्तार गरिए पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढेपछि भविष्यमा ३ सय शय्यासम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
उहाँले प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रतिष्ठानसम्बन्धी ऐन निर्माणको कामसमेत अघि बढिरहेको जानकारी दिनुभयो । अस्पताल र प्रतिष्ठानको विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तरक्रियामा अस्पतालका सामाजिक इकाइ प्रमुख सूर्यकान्त झाले अस्पतालको सेवा, जनशक्ति तथा समग्र अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले नयाँ भवन शीघ्र हस्तान्तरण, नर्सिङ कलेज सञ्चालन, अस्पताल विकास समिति गठन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
सरोकारवालाले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था, आईसीयू सञ्चालन, औषधिको नियमित उपलब्धता र आवश्यक उपकरणको सुनिश्चितता गर्न माग गरेका छन् । स्वास्थ्य बीमाअन्तर्गतका औषधि पर्याप्त नपाइने तथा करारका कर्मचारीले न्यून पारिश्रमिकमा काम गर्नुपरेको गुनासोसमेत मन्त्रीसमक्ष राखिएको थियो ।
यसै क्रममा मन्त्री मेहताले सप्तरीको भारदहस्थित जिल्ला अस्पतालको समेत निरीक्षण गरी त्यहाँको सेवा, पूर्वाधार, जनशक्ति तथा स्वास्थ्य सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो ।