पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एबी क्यारियर्सको गोदामबाट अवैध औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब ३ बजे प्रहरीको विशेष टोलीले उक्त गोदाममा चेकजाँच गरेको थियो । सो क्रममा विभिन्न प्रकारका औषधि बरामद भएपछि गोदाम सञ्चालक वीरगंज–१६ निवासी ४२ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले गोदामबाट Him Cam-MP Multi Dose Vet १६८ पिस, Lilivmax Vet Inj ८४० पिस र Himheal Herbal Spray २९५ थान बरामद गरेको जनाएको छ ।
बरामद औषधिको अनुमानित मूल्य ४ लाख १९ हजार ४१० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएका यादवलाई बरामद औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।