वर्षायाम सुरु भएसँगै स्थानीय उत्पादन घट्दा पर्साका बजारमा हरियो तरकारीको मूल्य बढेको छ । लगातारको वर्षाका कारण खेतबारीमा लगाइएको तरकारीको उत्पादन प्रभावित हुनुका साथै साउनदेखि अधिकांश किसानले व्यावसायिक तरकारी खेती कम गरेपछि बजारमा तरकारीको आपूर्ति घटेको हो ।
स्थानीय बजारमा अहिले काउली प्रतिकिलो १५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, भन्टा, परवल र गोलभेडा प्रतिकिलो ८० रुपैयाँ तथा हरियो खुर्सानी २०० रुपैयाँमा बिक्री भइरहेको छ ।
यसैगरी, बन्दाकोभी प्रतिकिलो ६० रुपैयाँ, बोडी ८० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिङ्नी ६० रुपैयाँ, करेला र रामतोरई ८० रुपैयाँ तथा कटहर १४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । लौका भने प्रतिगोटा ८० रुपैयाँमा बिक्री भइरहेको स्थानीय व्यापारीले बताएका छन् ।
स्थानीय सुनील ठाकुरका अनुसार नागपञ्चमीपछि साउन, भदौ र असोजसम्म अधिकांश किसानले नयाँ तरकारी खेती कम गर्ने गरेका छन् । वर्षायाममा खेती घट्दा स्थानीय उत्पादनको आपूर्ति कम हुने भएकाले बजारमा तरकारीको मूल्य बढ्ने गरेको उहाँले बताउनुभयो ।
वर्षाका कारण स्थानीय उत्पादन घटेसँगै बाहिरी जिल्लाबाट तरकारी ल्याउनुपर्ने अवस्था रहेकाले ढुवानी खर्च पनि मूल्य वृद्धिको अर्को कारण बनेको व्यापारीहरूको भनाइ छ । स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि बाहिरी जिल्लाबाट तरकारी आयात गर्नुपर्दा उपभोक्ताले थप मूल्य तिर्नुपरेको हो ।
तरकारीको मूल्य बढेपछि दैनिक उपभोगमा निर्भर सर्वसाधारण प्रभावित भएका छन्। विशेषगरी न्यून आय भएका परिवारलाई बढ्दो तरकारीको मूल्यले दैनिक भान्सा व्यवस्थापनमा कठिनाइ भइरहेको उपभोक्ताहरू बताउँछन् ।
वर्षायाममा उत्पादन र आपूर्ति सहज नभएसम्म तरकारीको मूल्य अझै केही समय उच्च रहन सक्ने व्यापारीहरूको अनुमान छ ।