जनकपुरधाम । खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सञ्चालन गर्दै आएको सागर ट्रेडर्सबाट १३१ वटा ग्यास सिलिन्डर बरामद भएको छ ।
उपभोक्ताको गुनासोका आधारमा जनकपुरधामको बजरङ्गचोकस्थित सागर ट्रेडर्समा अनुगमन टोलीले छापा मारेको हो । नेपाल आयल निगमको महेन्द्रनगर डिपोबाट रामराज सिंहको नेतृत्वमा खटिएको अनुगमन टोलीले सटर बन्द रहेको अवस्थामा अनुगमन गर्दा मनोज कम्पनीका १३१ वटा भरिएका ग्यास सिलिन्डर बरामद गरेको जनाएको छ ।
अनुगमन टोलीका एक कर्मचारीका अनुसार ग्यासको अभाव भइरहेका बेला सटर बन्द गरेर ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको अवस्थामा भेटिएको हो । उपभोक्तालाई ग्यास वितरण नगरी सटरमा ताला लगाएर राखिएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा ग्यास भण्डारण तथा वितरणको विषयमा आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।
यता, सागर ट्रेडर्सका सञ्चालकसमेत रहेका ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष पण्डितले भने बरामद भएको ग्यास कालोबजारीका लागि भण्डारण नगरिएको दाबी गरेका छन् । उपभोक्तालाई वितरण गर्न सूचीअनुसार ग्यास राखिएको अवस्थामा अनुगमन टोलीले कुरै नबुझी छापा मारेर नियन्त्रणमा लिएको उनको भनाइ छ ।
ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला व्यवसायीको गोदामबाट ठूलो परिमाणमा ग्यास बरामद भएपछि घटनाबारे थप छानबिन आवश्यक देखिएको छ ।