उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार सरकारी गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी मंगलबार बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख इन्सपेक्टर रमेश विष्टका अनुसार गाडीमा मुख्य न्यायाधीश डाँगीसहित चालक र अन्य गरी ६ जना सवार थिए ।
दुर्घटनामा घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको बताइएको छ। घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । थप उद्धार तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।