महोत्तरीको जलेश्वर नगरपालिका–२ का सिद्धार्थ साहले घरपालुवा कुकुरलाई सडकको भुस्याहा कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पुग्नुभयो । तर कार्यालयमा खोप उपलब्ध नभएको भन्दै बाहिरबाट खरिद गर्न भनिएको उहाँको गुनासो छ ।
साहका अनुसार कार्यालयमा ८० रुपैयाँ पर्ने भनिएको रेबिजविरुद्धको खोप बाहिर करिब ५०० रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था देखिएपछि उहाँले खोप वितरणमा अनियमितता भएको आशंका गर्नुभएको छ । उहाँले कार्यालयले ओपीडी टिकटमै पाँच हप्तादेखि खोप उपलब्ध नभएको उल्लेख गरी फर्काएको दाबी गर्नुभयो ।
तर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीका कार्यालय प्रमुख डा. इन्द्रेश झाले कार्यालयमा हाल २०० भाइल रेबिजविरुद्धको खोप मौज्दात रहेको बताउनुभएको छ । उहाँले कार्यालयबाट खोपको कुनै कालोबजारी नभएको दाबी गर्दै पछिल्ला दुई वर्षयता खोपको माग बढ्दै गएको जानकारी दिनुभयो ।
रेबिज संक्रमित जनावरको टोकाइ वा चिथोराइबाट सर्न सक्ने भएकाले जनावरले टोकेमा तत्काल स्वास्थ्य तथा पशु सेवा निकायमा सम्पर्क गरी आवश्यक खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।