वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले आफूविरुद्ध भइरहेको छानबिनबाट जोगिन राजीनामाको प्रपञ्च रचेको महानगरपालिकाको कार्यवाहक मेयरको सचिवालयले आरोप लगाएको छ ।
विभिन्न सञ्चारमाध्यममा आफूले कार्यवाहक मेयर इम्तियाज आलमले भनेअनुसार काम गर्न नसकेपछि राजीनामा दिएको लामिछानेको दाबीप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयका अनुसार कार्यवाहक मेयर आलमले जिम्मेवारी सम्हालेपछि विभिन्न विद्यालय, शिक्षक तथा सर्वसाधारणबाट लामिछानेविरुद्ध लिखित उजुरी परेका थिए । उजुरीमा काम गरिदिएबापत रकम माग गरेको र रकम नदिएपछि लामो समयसम्म विभिन्न काम अलपत्र पार्ने गरेको आरोप लगाइएको थियो ।
उजुरीपछि कार्यवाहक मेयर आलम र प्रमुख प्रशासकीय अधिकृतले लामिछानेलाई मौखिक स्पष्टीकरण सोधेका थिए । तर, उनको जवाफ चित्तबुझ्दो नभएपछि महानगरपालिकाले साउन १४ गते चलानी नम्बर ५७९ को पत्रमार्फत उनलाई शैक्षिक महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएको सचिवालयले जनाएको छ । महानगरपालिकाले उक्त पदमा तत्कालका लागि सोही कार्यालयमा कार्यरत सृजना बुढाथोकीलाई जिम्मेवारी दिएको थियो। बुढाथोकी हाल बिदामा रहेको बताइएको छ ।
आफ्ना गतिविधि ढाकछोप गर्न, महानगरको आन्तरिक छानबिनलाई प्रभावित पार्न तथा विषयलाई राजनीतिक रंग दिएर कार्यवाहक मेयर आलमको बदनाम गराउन लामिछानेले मिडियाबाजी गरेको सचिवालयको आरोप छ । कार्यवाहक मेयरका प्रेस सल्लाहकार सदाब हुसैनले लामिछानेले साँच्चिकै राजीनामा दिएको भए राजीनामा पत्र सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले प्रमाण र तथ्य पुष्टि नगरी समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
हुसैनका अनुसार कार्यवाहक मेयर आलमले शिक्षा क्षेत्रमा देखिएको बेथिति र भ्रष्टाचार अन्त्य गर्न आन्तरिक छानबिनलाई तीव्रता दिएका छन् । उनले लामिछाने निर्दोष भए छानबिनमा सहयोग गर्नुपर्ने र दोषी देखिए कानुनी कारबाहीका लागि तयार हुनुपर्ने बताएका छन् ।