बाराको निजगढ नगरपालिका–७ स्थित सुपर मार्केट नजिकै पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
भदौ २ गते साँझ चपुरबाट निजगढतर्फ आउँदै गरेको ना.४८ प ५६९३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेका साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट निजगढ नगरपालिका–९ निवासी ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको थियो। उनको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।