बर्दिबास अस्पतालमा सेवाग्राहीको संख्या निरन्तर बढ्दै गए पनि सोहीअनुसार पूर्वाधार र जनशक्ति विस्तार हुन नसक्दा अस्पताल व्यवस्थापनमा चुनौती थपिएको छ ।
पछिल्लो एक वर्षमा बहिरङ्ग (ओपीडी), अन्तरङ्ग (आईपीडी), आकस्मिक तथा मातृ–शिशु सेवामा सेवाग्राहीको चाप बढेपछि अस्पतालले सेवा विस्तारसँगै भौतिक संरचना, जनशक्ति र उपकरण व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा सामना गरिरहेको हो ।
अस्पतालको वार्षिक सेवा प्रवाह विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ४५ हजार ३७० जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । आर्थिक वर्ष २०८१/८२ मा करिब ३९ हजार ४०० सेवाग्राही रहेकामा एक वर्षमै झन्डै ६ हजार सेवाग्राही थपिएका छन् । सेवा विस्तार, उपचारमा सुधार तथा स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि महोत्तरीसँगै छिमेकी जिल्लाबाट समेत बिरामी आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रितेश घिमिरेका अनुसार सेवाग्राहीको संख्या बढेसँगै अस्पतालको विद्यमान संरचनाले माग धान्न कठिन हुँदै गएको छ । जनशक्ति व्यवस्थापन, शौचालय विस्तार, प्रयोगशालाको क्षमता वृद्धि, स्वास्थ्य बिमा सेवाको व्यवस्थापन तथा निःशुल्क औषधीको पर्याप्त मौज्दात कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।