कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सामुदायिक वन क्षेत्रमा लुकाइराखिएको अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला परेको हो । बरामद बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वन क्षेत्रमा बेवारिसे अवस्थामा बन्दुक फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
“सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद भएको छ । तीमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा छन्,” प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “बन्दुक कसले, कहिले र के प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”
प्रहरीले बरामद बन्दुक नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित व्यक्ति तथा सम्भावित आपराधिक गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ ।