प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोलाबाट ६ सय ६० किलो गाँजा बरामद गरेको छ ।
बुधबार लागुऔषध नियन्त्रण ब्युरो, बर्दिबास शाखाबाट खटिएको टोलीले डाइनीखोलाको दुई स्थानमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले जानकारी दिए ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ रहेका छन् ।
प्रहरीका अनुसार नरबहादुरले २६ वटा बोरामा प्याक गरी ५ सय ६० किलो गाँजा लुकाएर राखेका थिए। त्यस्तै, जेसुनमायाले गोठमा लुकाएर राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गरिएको डीएसपी निरौलाले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरोले इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाएको जनाएको छ ।