जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् ।
बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोशको वातावरण सिर्जना भएको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण त्रिभुवन राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। स्थानीयवासीले बालिकाको परिवारलाई न्यायको अनुभूति हुने गरी घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागी स्थानीयले बालिकाको हत्या जस्तो गम्भीर घटनाको अनुसन्धानमा कुनै किसिमको कमजोरी हुन नहुने बताएका छन्। उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रहरी तथा प्रशासनसँग माग गरेका छन् ।
घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले अनुसन्धान अघि बढाएका छन् । स्थानीयवासीको प्रदर्शन र सडक अवरोधका कारण त्रिभुवन राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।