सर्लाहीका बेग्लाबेग्लै स्थानबाट प्रहरीले १० क्विन्टलभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका र कौडेना गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो । जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित लालबन्दी नगरपालिका–१४, डाइनीखोलाबाट ७ सय ४३ किलो ९ सय ८० ग्राम गाँजासहित स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ पक्राउ परेका छन् ।
घरमा गाँजा लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्युरो, बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूको घरमा छापा मारेको थियो। सो क्रममा ड्रम तथा बोराभित्र लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले सोही क्षेत्रमा मकैबारीभित्र करिब दुई कठ्ठामा लगाइएको गाँजाको बेर्नासमेत नष्ट गरेको छ ।
सर्लाहीको विकट चुरे क्षेत्रअन्तर्गत नारायणखोलास्थित डाइनीखोलामा गाँजा बरामद गर्न प्रहरी टोली दुईवटा ट्र्याक्टरमा पुगेको थियो। सडकको पहुँच नभएको उक्त क्षेत्रमा बाढीका कारण खोलाबाट सवारीसाधन जान नसकेपछि प्रहरी ट्र्याक्टरमार्फत घटनास्थल पुगेको हो ।
प्रहरीले नारायणखोलाबाट यसअघि पनि पटक–पटक गाँजा बरामद गर्नुका साथै गाँजाको खेती नष्ट गर्दै आएको छ । भौगोलिक रूपमा विकट र प्रहरीको नियमित उपस्थिति कम हुने भएकाले यस क्षेत्रमा स्थानीयले गाँजा खेती गर्दै आएको प्रहरीको भनाइ छ । नारायणखोलासहित सर्लाहीको चुरे क्षेत्रमा गाँजा खेतीबाट स्थानीयले आम्दानी गर्दै आए पनि नेपालको विद्यमान कानुनले गाँजाको खेती तथा कारोबारलाई अवैध मानेको छ ।
यसैबीच, प्रहरीले सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–१, लक्ष्मीपुरबाट थप ३०० किलो गाँजा बरामद गरेको छ। स्थानीय बिजन पटेलको घरबाट १५ वटा बोरामा राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो ।
घरधनी पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बरामद लागुऔषध गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।