बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ ।
उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउँदै सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीएसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सिमरामा कार्यरत डीएसपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको प्रहरी प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए ।
सिमरामा पठाइएका डीएसपी भट्ट यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै आन्दोलन गरेका थिए। साउन ३१ गतेदेखि हराइरहेकी बालिका गरिमाको शव भदौ २ गते सिमरा–१ स्थित खाली घरमा फेला परेको थियो ।
प्रहरीको अनुसन्धानअनुसार बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ । बालिका हराएपछि परिवारले जानकारी गराउँदा पनि प्रहरीले खोजतलास तथा अनुसन्धानमा बेवास्ता गरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् । यस विषयमा प्रतिनिधिसभा सदस्यहरूले समेत डीएसपी क्षेत्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुमन थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन् । प्रारम्भिक अनुसन्धानमा उनले चकलेट दिएर बालिकालाई फकाई घटनास्थलमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। पक्राउ परेका अर्का आरोपी प्रोग्रेस चौधरी उक्त म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ ।