जनकपुरधामको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीस्थित भुतनाथ मन्दिरमा चोरीको प्रयास गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चोरीमा संलग्न अर्का व्यक्ति भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति करिब १ः३० बजे मन्दिरभित्र चोरी गरेर भाग्ने क्रममा भारतको बिहारस्थित मोतिहारी जिल्ला, इनरवा फुलबार थाना, लखौरा–७ का २६ वर्षीय मोतिफर रहमान मियाँ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मन्दिरको छिटकनी तोडेर भित्र प्रवेश गरेका उनीहरूले महादेवको मूर्तिमा रहेको जलहरी तथा ठूलो मुकुट, वरिपरि रहेका भगवानका मूर्तिमा जडित चारवटा मुकुट र नागदेवताको मूर्ति चोरी गरेका थिए । चोरी गरिएका सामग्री कुच्याएर कम्बलमा बाँधी भाग्ने क्रममा मियाँ पक्राउ परेका हुन् ।
घटनामा संलग्न अर्का व्यक्ति भने मन्दिरको पर्खाल नाघेर फरार भएको प्रहरीले जनाएको छ । मन्दिरको छतमा सुतिरहेका स्थानीय एक व्यक्तिले चोरी भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालित भएको थियो। करिब १०–१५ मिनेटमै प्रहरी घटनास्थल पुग्दा एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने फरार व्यक्तिको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय घर, पसल तथा कलकारखाना चोरीको निशानामा पर्दै आएका छन् । पछिल्लो समय धार्मिक मठमन्दिरसमेत चोरीको निशानामा पर्न थालेपछि सुरक्षा चुनौती बढेको देखिएको छ ।