जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन सामाजिक परीक्षण अनिवार्य गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सोमबार सूचना जारी गर्दै सामाजिक परीक्षण नगरेका सामुदायिक विद्यालयलाई तत्काल प्रक्रिया पूरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई सामाजिक परीक्षण गराउन निर्देशन दिएको जनाएको छ। विद्यालयहरूले सामाजिक परीक्षण नगर्ने गरेको गुनासो प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको शाखाले जनाएको छ ।
शाखा प्रमुख अन्जु पाण्डेका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १७१(क) तथा विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम प्रत्येक सामुदायिक विद्यालयले सामाजिक परीक्षण गराउनुपर्ने व्यवस्था छ । सामाजिक परीक्षण सम्पन्न गरेपछि त्यसको प्रतिवेदन शिक्षा, युवा तथा खेलकुद विकास शाखामा अनिवार्य रूपमा पेश गर्नसमेत विद्यालयहरूलाई निर्देशन दिइएको छ ।
विद्यालयमा उपलब्ध स्रोतसाधनको उपयोग, आर्थिक कारोबार, शैक्षिक उपलब्धि, व्यवस्थापकीय गतिविधि तथा विद्यालय र समुदायबीचको सम्बन्धबारे सरोकारवालालाई जानकारी गराउन सामाजिक परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। यस प्रक्रियाले विद्यालयको कामकारबाहीप्रति समुदायको निगरानी र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
विद्यालयको नियमित शैक्षिक गतिविधिसँगै आर्थिक तथा व्यवस्थापकीय पक्षमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सामाजिक परीक्षण आवश्यक रहेकाले सबै सामुदायिक विद्यालयलाई तोकिएको व्यवस्था पालना गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।
स्थानीय तहमा सामाजिक परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थाले विद्यालय सञ्चालनमा समुदायको सहभागिता तथा सार्वजनिक जवाफदेहिता बढाउने उद्देश्य राखेको छ । तर, विद्यालयहरूले सामाजिक परीक्षण नै नगर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले पुनः ताकेता गरेको हो ।