जेनजी आन्दोलनका क्रममा धनुषा, महोत्तरी र सर्लाहीमा क्षतिग्रस्त सरकारी कार्यालयहरूको मर्मतसम्भार तथा पुनर्निर्माणमा ७२ लाख ४९ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरका अनुसार आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षति भएका संघीय सरकारअन्तर्गतका सरकारी कार्यालयहरूको मर्मतसम्भार तथा पुनर्निर्माणमा उक्त रकम खर्च भएको हो । कार्यालयका अनुसार जिल्ला अदालत धनुषा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास, जिल्ला अदालत सर्लाही, जिल्ला सहकारी वकिल कार्यालय सर्लाही, महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्र जनकपुर, जिल्ला कारागार सर्लाही तथा राइजोवियम तथा घाँसेबाली बीउबिजन प्रयोगशालालगायतका कार्यालयमा मर्मतसम्भारको काम गरिएको छ ।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालयलाई निशाना बनाउँदै तोडफोड तथा आगजनी गरेका थिए । त्यसबाट क्षतिग्रस्त भएका कार्यालयहरूको मर्मतसम्भार तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित बजेटमार्फत सम्पन्न गरिएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका सूचना अधिकारी सुधीर शाहले बताए ।
उनका अनुसार कतिपय सरकारी कार्यालयका भवनभित्रका कोठाहरू पूर्ण रूपमा क्षतिग्रस्त हुँदा प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको थियो । यसका कारण कार्यालयको नियमित सेवा प्रवाहसमेत प्रभावित भएको थियो ।यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा जेनजी आन्दोलन, ठेकेदारको आन्दोलन तथा निर्माण सामग्रीको मूल्यवृद्धिलगायतका कारण विकास निर्माणका काम अपेक्षाअनुसार अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा सर्लाहीमा सातवटा विद्यालय, धनुषा, महोत्तरी र सर्लाहीमा गरी तीनवटा सामुदायिक भवन, महोत्तरीमा एक स्वास्थ्य भवन तथा सर्लाही र महोत्तरीमा गरी तीनवटा इमर्जेन्सी सेल्टर निर्माण गरिएको छ ।
यस्तै, कार्यालयले गत आर्थिक वर्षमा १५.६६ किलोमिटर सडक कालोपत्रे, ३.१८ किलोमिटर सडक ढलान तथा ६.७६ किलोमिटर नाला निर्माण गरेको जनाएको छ ।