मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको छ ।
मुख्यमन्त्री यादवले भने आफ्नो भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले संघीय सरकारको सहमति आवश्यक नपरेको बताएका छन् । प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) भ्रमणका लागि भारत गएका हुन् । उनीसँग प्रदेश सरकारका केही मन्त्री र स्वकीय सचिवसमेत रहेको महतोले जानकारी दिए ।
मुख्यमन्त्री यादव भारत भ्रमणका क्रममा धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको स्रोतले जनाएको छ। उनी आइतबार राति नै मधेस प्रदेश फर्किएका छन् । विदेश भ्रमणका विषयमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले संघीय सरकारसँग समन्वय तथा स्वीकृति लिने अभ्यास रहँदै आएको छ । यसअघि मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र सतीश सिंहको विदेश भ्रमणका लागि संघीय सरकारबाट स्वीकृति दिइएको निर्णयसमेत सार्वजनिक अभिलेखमा रहेको बताइएको छ ।
यद्यपि, मुख्यमन्त्री यादवको पछिल्लो भारत भ्रमणका सम्बन्धमा संघीय सरकारबाट कुनै औपचारिक निर्णय नभएको बताइएको छ । यसले प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय तथा प्रदेशका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रक्रियाबारे प्रश्न उठाएको छ । मुख्यमन्त्री यादवले आफू सरकारी प्रतिनिधिमण्डलको औपचारिक भ्रमणमा नभई व्यक्तिगत धार्मिक भ्रमणमा गएको स्पष्ट पारेका छन् । धार्मिक भ्रमण भएकाले संघीय सरकारसँग सहमति नलिएको उनको भनाइ छ ।
‘व्यक्तिगत धार्मिक भ्रमण भएकाले संघीय सरकारको सहमति लिएको होइन,’ यादवले भने । उनका अनुसार उनी शुक्रबार भारत गएका थिए र आइतबार राति नै मधेस प्रदेश फर्किएका हुन् ।