पर्साको पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्रमाथि घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले घुस लिई भ्रष्टाचार गरेको आरोपमा चन्दन कुमार मिश्रलाई सरकारी साक्षीको रूपमा पेश गरेका थिए । अनुसन्धानको क्रममा मिश्रले आयोगका अनुसन्धान अधिकृतसँग गरेको बयानको प्रतिकूल बकपत्र गरेपछि उक्त आरोप प्रमाणित भएको हो ।
आयोगको अनुसन्धानमा मिश्रले तत्कालीन प्रहरी निरीक्षक सुवेदीलाई साइबर अपराध मुद्दा मिलाइदिन ९९ हजार रूपैयाँ घुस दिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ । मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दफा ३ को उपदफा (३) अन्तर्गत मुद्दा दायर गरी बिगो ९९ हजार रूपैयाँ र कैद सजायको माग गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।