पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोल निवासी अजय रामका करिब १७ वर्षीय छोरा आकाश राम रहेका छन् । भाथाधाममा लागेको एक महिने साउने मेला समापन भएपछि मंगलबार बिहान मेलामा थापिएका पसलका सामान लिन जाँदै गरेको ट्र्याक्टरबाट आकाश खसेका थिए। ट्र्याक्टरबाट खसेलगत्तै उनलाई सोही ट्र्याक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्र्याक्टरमा चालक र मृतक किशोर गरी दुई जना मात्रै सवार थिए । उनीहरू नाताले काका–भतिजा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ट्र्याक्टर चारभैया पोस्टबाट करिब दुई किलोमिटरभित्र पुगेपछि किशोर खसेका थिए । त्यस क्रममा ट्र्याक्टरको चक्कामुनि परी उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनापछि ट्र्याक्टर चालक ट्र्याक्टरसहित फरार भएका छन् । बिहान करिब ७ बजे भएको घटनापछि बाटोमा रगत देखेपछि भाथाधामतर्फ जाँदै गरेका श्रद्धालुले नेपाली सेनालाई जानकारी गराएका थिए । त्यसपछि मेला व्यवस्थापन समितिका अध्यक्ष अल्खदेव चौधरी घटनास्थलमा पुग्दा किशोर मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रारम्भिक विवरणमा ट्र्याक्टरमा चालक र मृतक किशोर गरी दुई जना सवार रहेको खुलेको छ । किशोर ट्र्याक्टरबाट खसेपछि चक्काले किचेर मृत्यु भएको देखिएको उनले बताए ।
प्रहरीले शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाएको छ । फरार चालक र ट्र्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।