पर्साको वीरगंजबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन् । ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३ः३० बजे वीरगंज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका यादवलाई रोकेर चेकजाँच गरिएको थियो। त्यसक्रममा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकमा पोका पारेर राखिएको ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचोसमेत फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले वीरगन्ज महानगरपालिका–८ मा रोकिराखिएको उक्त कारसमेत नियन्त्रणमा लिएको छ ।
बरामद लागूऔषध र कारसहित पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।