मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा वीरगंज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा बुधबार सार्वजनिक बिदा दिइएको छ ।
वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन सार्वजनिक बिदा रहने जनाएको हो ।
महानगरपालिकाको आदेशबमोजिम बिदा दिने निर्णय गरिएको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजयकुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
विद्यालयमा सार्वजनिक बिदा भए पनि वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट हुने नियमित कामकाज भने यथावत् सञ्चालन हुने भएको छ ।
मधेश प्रदेश सरकारको सूचनाअनुसार महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीलाई भने मोहम्मद जयन्तीका अवसरमा विशेष बिदा उपलब्ध गराइने कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सचिवालयले जनाएको छ ।
यससँगै विद्यालयका विद्यार्थी तथा शिक्षक–कर्मचारीका लागि बिदा लागू भए पनि महानगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी नियमित काम भने प्रभावित नहुने महानगरपालिकाले स्पष्ट पारेको छ ।
