वीरगंजमा इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव ईद–ए–मिलादुन्नबीको अवसरमा बुधबार विशेष ‘सिरतुन नबी’ कार्यक्रम तथा शान्ति सभा सम्पन्न भएको छ ।
वीरगंज मुस्लिम समाजको आयोजनामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको १२औँ तारिखका दिन विश्वभरका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मोत्सवलाई ईद–ए–मिलादुन्नबीका रूपमा मनाउने गर्छन् ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, मौलाना अलियसगर मदनी, मौलाना महमद आलम, मौलाना इजहार हुसैनलगायत मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
सभामा वक्ताहरूले पैगम्बर हजरत मोहम्मदले दिनुभएको शान्ति, प्रेम, सद्भाव, भाइचारा तथा मानवताको सन्देशबारे चर्चा गरेका थिए । उनीहरूले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता, सहिष्णुता र भाइचारालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
आयोजकका अनुसार कार्यक्रम उत्साहजनक, शान्तिपूर्ण तथा सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको छ ।