प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शिक्षासम्बन्धी उपसमितिले वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकसँग सम्बन्धित विषयमा आवश्यक विवरण तथा कागजात माग गर्ने निर्णय गरेको छ ।
क्याम्पसका स्थायी प्राध्यापकहरूले नियमित रूपमा हाजिरी मात्र गरेर निजी विद्यालय तथा कलेज सञ्चालन गरी राज्यबाट प्राप्त सेवा–सुविधाको दुरुपयोग गरेको आरोपसहित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको थियो । समितिको शिक्षासम्बन्धी उपसमितिको हालै बसेको बैठकले उक्त निवेदनमाथि छलफल गर्दै ठाकुरराम बहुमुखी क्याम्पससँग सम्बन्धित विभिन्न विषयका विवरण तथा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
स्थानीय शम्भु प्रसाद यादवले उपसमितिमा पेस गरेको निवेदनमा क्याम्पसका प्राध्यापक, सहप्राध्यापक तथा सहायक प्राध्यापकहरूले नियमित रूपमा कक्षा नलिई निजी शैक्षिक संस्थामा संलग्न हुने गरेको आरोप लगाइएको छ ।
निवेदनमा प्राध्यापकहरूले बिहान बायोमेट्रिक हाजिरी गरेपछि निजी विद्यालय, कलेज वा व्यक्तिगत काममा जाने र साँझ फर्किएर पुनः हाजिरी गर्ने गरेको दाबी गरिएको छ । क्याम्पसको नियमित पठनपाठनको जिम्मेवारी भने आंशिक, पार्टटाइम तथा करारका प्राध्यापकहरूले मात्र धानिरहेको आरोपसमेत निवेदनमा उल्लेख छ । त्यस्तै, केही प्राध्यापकले आफ्ना परिवारका सदस्यको नाममा निजी विद्यालय तथा कलेज दर्ता गराई आफू निर्देशक वा सञ्चालकका रूपमा संलग्न रहेको दाबी गरिएको छ ।
निवेदनमा पूर्वक्याम्पस प्रमुख उमेश चौरसियाले गोल्डेन फ्युचर मावि सञ्चालन गरेको, ललन द्विवेदीले वीरगंज स्कुल सञ्चालन गरेको तथा प्रदीप कुशवाहालगायतले क्याम्पसको समयमै निजी शैक्षिक संस्था सञ्चालन गरेको आरोप लगाउँदै छानबिनको माग गरिएको छ । त्यसैगरी, उमेश चौरसियाको कार्यकालमा भएका नियुक्ति तथा विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसलाई प्राप्त रकमको समेत छानबिन गर्न माग गरिएको छ ।
उक्त निवेदनका आधारमा उपसमितिले ठाकुरराम बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक तथा सम्बन्धित विषयमा आवश्यक सम्पूर्ण विवरण र कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिले माग गरेअनुसार सात दिनभित्र विवरण तथा कागजात उपलब्ध गराउन र आरोपमा सत्यता देखिएमा सम्बन्धित विषयमा आवश्यक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।