वीरगंज महानगरपालिका–२ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक समारोहबीच उद्घाटन गरिएको छ । धर्मशाला भवनको वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले विधिवत् उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले स्थानीय समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाउन नवनिर्मित धर्मशालाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरवासीको आवश्यकता र विकास निर्माणका कार्यलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार समुदायको आवश्यकता र सामाजिक गतिविधिलाई ध्यानमा राखेर निर्माण गरिएका यस्ता पूर्वाधारले स्थानीयवासीलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुनेछन् ।
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिका–२ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराईलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले धर्मशाला निर्माणले वडावासीलाई सामाजिक, धार्मिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए ।
नवनिर्मित धर्मशाला स्थानीय समुदायका विभिन्न कार्यक्रम, धार्मिक अनुष्ठान तथा सामाजिक गतिविधिका लागि प्रयोगमा आउने जनाइएको छ ।