भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि लायन्स क्लबहरूले राहत तथा मानवीय सहायता अभियानलाई निरन्तरता दिएका छन् ।
लायन्स क्लब अफ पोखरियासहित डिष्ट्रिक्ट ३२५ ‘एस’ अन्तर्गतका विभिन्न लायन्स क्लबहरू आ–आफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा मानवीय सेवामा जुटिरहेका छन् ।
यसैक्रममा एरिया नं. ३ को बैठकले बाढी प्रभावितका लागि नगद सहयोग संकलन गरी लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’ मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यसअघि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’, नेपालका तर्फबाट ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रयोजनका लागि मल्टिपल काउन्सिल चियरपर्सनलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
त्यसैगरी, बाढी प्रभावित तथा पीडित परिवारको सहयोगका लागि लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले विपद्को कठिन समयमा पीडित परिवारको साथमा उभिनु, सहयोगको हात बढाउनु र आशाको भावना जगाउनु नै लायन्स सेवाको मूल भावना भएको बताएका छन् ।
उनले बाढी प्रभावितको सहयोगका लागि जारी मानवीय अभियानमा लायन्स क्लब, सदस्य, पदाधिकारी तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र समन्वय आवश्यक रहेको बताए ।
लायन्स क्लबहरूले विपद्का समयमा मानवीय सेवाको भावनासहित राहत तथा सहयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।