गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीले सयौँ परिवारको खुसी खोसेको छ ।
कसैको घर बगाएको छ, कोही आफन्तविहीन भएका छन् भने कोही घाइते छन्। कतिपयले आफ्नो व्यापार–व्यवसाय गुमाएका छन्। हिमालदेखि पहाडसम्म बाढीले पुर्याएको यो पीडाले सिंगो देशलाई भावुक बनाएको छ ।यही पीडामा मल्हम लगाउन सरकारले राहत कोष स्थापना गरी देशभरबाट सहयोग जुटाउने अभियान अघि बढाइरहेका बेला रौतहटको एक विद्यालयका शिक्षक र विद्यार्थीले देखाएको मानवीय भावना उदाहरणीय बनेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित मावि प्रेमपुर गोनाही विद्यालयमा बाढीपीडितका लागि सहयोग जुटाउने अभियान सुरु गरिएको हो । बाढी आएको भोलिपल्ट बिहीबार विद्यालय खुलेपछि शिक्षकहरूबीच पीडितका लागि सहयोग गर्ने विषयमा छलफल भयो । छलफलका क्रममा विद्यालयका प्रधानाध्यापक मुकेशकुमार यादवले ‘हिमाल, पहाड वा तराई जहाँको भए पनि हामी नेपाली हौँ, नेपालीलाई दुःख पर्दा हामी सबै एक ठाउँमा उभिनुपर्छ’ भन्ने धारणा राखे ।
प्रधानाध्यापक यादवको यही भनाइले शिक्षकहरूलाई भावुक बनायो। त्यसपछि विद्यालयमा कार्यरत १९ जना शिक्षकमध्ये १४ जनाले स्वेच्छाले सहयोग रकम जम्मा गरे। कसैले एक हजार, कसैले एक हजार पाँच सय त कसैले दुई हजार रुपैयाँसम्म सहयोग गरेका छन्। तर, मानवीयताको यो अभियान शिक्षकमा मात्र सीमित रहेन । शिक्षकहरूले कक्षाकोठामा पुगेर विद्यार्थीलाई भोटेकोशी बाढीले निम्त्याएको पीडा सुनाउँदै विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरे।
शिक्षकहरूको आग्रहपछि कक्षा ९ मा अध्ययनरत २६ जना विद्यार्थीले आफूले खाजा खान ल्याएको पैसाबाटै केही रकम छुट्याए। कसैले १० रुपैयाँ, कसैले २० रुपैयाँ त कसैले ५० रुपैयाँसम्म सहयोग गरे। यसरी विद्यार्थीहरूले ४७० रुपैयाँ जम्मा गरे ।
रकम सानो भए पनि त्यसमा जोडिएको भावना भने निकै ठूलो थियो। खाजा खान खर्च गर्ने पैसामध्ये केही कटाएर भए पनि बाढीपीडितको पीडामा साथ दिने उनीहरूको प्रयास प्रशंसनीय बनेको छ । त्यस्तै, कक्षा ११ का विद्यार्थीहरूले पनि खाजा खान ल्याएको पैसाबाट केही रकम छुट्याएर ४०० रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्। विद्यालयका प्रधानाध्यापक यादवका अनुसार शिक्षक र विद्यार्थीलाई सहयोगका लागि प्रेरित गर्न विद्यालयमै कार्यरत निमावि शिक्षक निरञ्जन यादवको पनि अग्रणी भूमिका रहेको थियो।
विद्यार्थीहरूले जम्मा गरेको रकमको विवरणसहितको सूची सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो । उक्त पोस्टमा हजारौँ मानिसले प्रतिक्रिया दिँदै शिक्षक तथा विद्यार्थीहरूको मानवीय भावनाको प्रशंसा गरेका छन् । कतिपयले ठूलो रकम सहयोग गर्न नसके पनि दुःखमा साथ दिन रकमको आकारभन्दा मन ठूलो हुनुपर्ने सन्देश यी विद्यार्थीहरूले दिएको बताएका छन् ।
विपत्तिका बेला कसैले करोडौँ रुपैयाँ सहयोग गर्छन्, कसैले लाखौँ । तर, खाजा खान बोकेको पैसाबाट १०, २० र ५० रुपैयाँ छुट्याएर पीडितका लागि सहयोग गर्ने यी बालबालिकाको योगदानलाई पैसाको मूल्यले मात्र मापन गर्न सकिँदैन । किनकि उनीहरूले राहत कोषमा केवल रुपैयाँ जम्मा गरेका छैनन्, पीडित परिवारका लागि आफ्नो सानो खुसी त्यागेर मानवताको ठूलो उदाहरण प्रस्तुत गरेका छन् ।
भोटेकोशीको बाढीले घर र सम्पत्ति बगाएको छ । तर, यस्ता साना–साना सहयोगका हातहरूले नेपाली समाजमा मानवता अझै जीवित रहेको सन्देश दिएका छन् ।